कोरोनाका कारण अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित

ईयुनेपाल प्रतिनिधि 
काठमाडौं,अप्रिल ३० ।
आगामी मे ७ तारिखका दिन तय भएको २५६४औं बुद्ध जयन्ती मूल समारोह तथा सो भन्दा २ दिन अगाडिका लागि तय भएको तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका कार्यक्रमहरु कोरोना भाईरसका कारण स्थगित भएको छ  ।
लुम्बिनी बिकास कोषका का.मु. सदस्यसचिब ज्ञानिन राईद्वारा आज  जारी  गरिएको प्रेस विज्ञप्तीमा सम्बन्धित सबैमा  सो कुरा जानकारी गराईएकोछ ।
प्रेस विज्ञप्तीमा अगाडी भनिएको छ विश्व शान्तिका प्रबर्धक शाक्यमुनि भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीका साथै उहाँको जीवनसँग प्रत्यक्ष वा परोक्षरूपमा सम्बन्धित कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा अवस्थित विभिन्न पुरातात्विक तथा धार्मिकस्थल र सम्पदाका साथै विश्व शान्ति र निर्वाण प्रदान गर्ने उहाँको अमृतमय शिक्षालाई उहाँकै पावन जन्मभूमिमा नेपाल सरकारबाटै सघनरूपमा प्रचारप्रसार गरी सम्पूर्ण जगतको कल्याण तथा विश्वमा अहिंसा, भाइचारा र सद्भाव बढाउने हेतुले “लुम्बिनी नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्वशान्तिको मुहान” भन्ने नाराका साथ २५६४औँ बुद्धजयन्ती तथा तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई अन्तर्राष्ट्रियस्तरको प्रतिनिधिहरुको सहभागितामा भव्यताका साथ मनाउन नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६÷१०÷२० मा बसेको बैठकले निर्णय गरेको व्यहोरा जानकारी गराउन चाहन्छौं ।

​सोहीअनुरुप २५६४औं बुद्ध जयन्ती तथा तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई भव्यरुपमा सफल बनाउनका लागि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा आयोजक समिति गठन भई सचिवालयको स्थापना गरी गृहकार्य भइरहेको अवस्थामा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोबिड-१९ का कारणले आजका मितिसम्म विश्वभर ३१ लाख ९४ हजार भन्दा बढी मानिसहरु संक्रमित भईसकेको र यस महामारीका कारण २ लाख २७ हजार भन्दा बढीको मृत्यु भइसकेको साथै नेपालमा पनि आजका दिनसम्म ५७ जना नागरिकहरु संक्रमित भएको अवस्था छ ।

यो महामारीबाट नागरिकहरुलाई जोगाउनका लागि नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि मुलुकलाई पूर्णरुपमा लकडाउनको घोषणा गरिरहेको अवस्थामा विगत बर्षहरुमा जस्तो हजारौ संख्यामा मानिसहरु भेला भई कार्यक्रम आयोजना गर्दा यो रोगको संक्रमणको ठूलो जोखिम हुने भएको र नेपाल सरकार लगायत विश्वका विभिन्न देशहरुले लकडाउनलाई क्रमशः बढाउदै लगेकाले नेपाल सरकारबाट जारी गरिएको निर्देशन अनुसार पनि मानिसहरु भीडभाड हुने, सभा सम्मेलन तथा गोष्ठी, सेमिनार आदि कार्यक्रमको आयोजना गर्न रोक लगाएको र अति आवश्यक कार्यहरुका लागि समेत भौतिक दूरी कायम राख्नुपर्ने भएकोले वि.सं. २०७७ सालको वैशाख २५ गते वैशाख शूक्ल पूर्णिमा (तदनुसार २०२० मे ०७) का दिन तय भएको २५६४औं बुद्ध जयन्ती मूल समारोह तथा सो भन्दा २ दिन अगाडिका लागि तय भएको तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका कार्यक्रमहरु कोरोना भाईरस कोबिड-१९ का कारण स्थगित भएको व्यहोरा जानकारी गराउन चाहान्छौ । सदस्य सचिव  राईद्वारा हस्ताक्षरित  प्रेस विज्ञप्तीमा भनिएको छ ।

​सदस्य सचिव ज्ञानिन राईद्वारा हस्ताक्षरित  प्रेस विज्ञप्तीमा  अगाडी भनिएको छ २५६४औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०७७ को अवसरमा लुम्बिनी विकास कोषले भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा नेपाल सरकारबाट नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण रुपमा पालना गर्दे निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरीे बौद्ध भिक्षु÷भिक्षुणी तथा लामा गुरु÷गुरुमाहरुबाट विश्व शान्तिको कामना गर्दे प्रार्थना एवं पाठपूजासहित २५६४ वटा दिप प्रज्वलन गरिने व्यहोरा समेत जानकारी गराउदछौ । साथै बौद्ध समुदाय लगायत सम्पूर्ण महानुभावहरुमा पनि नेपाल सरकारबाट जारी भएको निर्देशनको पूर्णरुपमा पालना गर्दे आ–आफ्नो स्थानमा सुरक्षित रही सुरक्षित तबरले प्रार्थना एवं पाठपूजा गरी मनाउनुहुन हार्दिक अनुरोध गर्दछौ ।
​अन्त्यमा, २५६४औ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०७७ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोबिड-१९ को यथाशीघ्र उन्मूलनको लागि कामना समेत गर्दछौँ  प्रेस बिज्ञप्तिमा भनिएकोछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*