फ्रान्समा नयाँ शक्तिले एक बर्षमै राष्ट्रपतिको चुनाब जित्यो

रामचन्द्र भण्डारी
पेरिस, फ्रान्स

हिजो मिति ०७ मे २०१७ का दिन सम्पन्न फ्रान्सको राष्ट्रपतिको दोस्रो चरणको चुनाबमा एक वर्ष अगाडी स्थापना भएको नयाँ राजनीतिक शक्तिका प्रमुख EMMANUEL MACRON ले 65,9 % मत हासिल गरि बिजय हासिल गरेका छन | अर्थात ३९ बर्षको उमेरमा EMMANUEL MACRON फ्रान्सको २५ अाै रास्ट्रपति बनेका छन् | उनकी प्रतिद्वन्दी फ्रान्सको एक अति दक्षिणपन्थी पार्टी ( FN ) की प्रमुख MARINE LE PEN ले 34,1% मत हासिल गरिन | सत्तारुढ दल समाजबादी पार्टी ( PS ) का उम्मेदवारले जम्मा ६,३६ % र प्रमुख प्रतिपक्षी दल तथा स्थानिय निकायमा सबैभन्दा राम्रो पकड भएको पार्टीले रिपब्लिकाँ ( LR ) का उम्मेदवारले जम्मा २०.०१ % मत ल्याई पहिलो चरणबाट नै बाहिरिएका थिए | फलस्वरूप एकवर्ष अगाडीमात्र स्थापना भएको तथा प्रतिनिधिसभा वा स्थानिय निकायमा कहिँ कतै कुनै प्रतिनिधित्व नगरिसकेको नयाँ राजनीतिक शक्ति र प्रतिनिधि सभामा जम्मा २ सिट मात्र जितेको अति दक्षिणपन्थी तथा राष्ट्रबादी पार्टीले प्रथम र दोस्रो स्थान हासिल गर्नुले फ्रान्सका जनताहरु पुरानो राजनीतिक समूहको ठाउँमा नया राजनीतिक समूह वा शक्तिलाइ अवसर दिन चाहेको कुरा स्पष्ट देखियो | यस लेखमा पचासौ बर्षदेखि स्थानिय निकायदेखि राष्ट्रिय राजनीतिसम्म निर्बाचनको माध्यमले कब्जा जमाएका ठुला र मध्यम राजनीतिकदललाइ पछि पार्दै नया शक्तिका प्रमुखले कुन कुन कारणले र कसरी फ्रान्सजस्तो शक्तिशाली र प्रजातान्त्रिक देसको राष्ट्रपतिको निर्वाचन जित्न सफल भए भन्ने कुराको बिश्लेषण गर्न खोजिएको छ | EMMANUEL MACRON ले चुनाब जित्नुका १० मुख्य कारणहरु छन् :

>> दशकौं देखि फ्रान्समा दुइ प्रमुख राजनितिक दलहरु समाजबादी पार्टी ( PS) र ले रिपब्लिकाँ ( LR ) पालैपालो शासन गर्दै आएका छन | करिब बिस वर्षदेखि लगातार फ्रान्सको आर्थिक तथा सामाजिक स्थिति दिनप्रतिदिन बिग्रदै गइरहेको छ | सरकारी खर्चमा बृद्दी भइ बजेट घाटा बढ्दो छ, आर्थिक बृद्दी शुन्यको नजिक छ | बेरोजगारी, सामाजिक सुरक्षा ब्यवस्थाको दुरुपयोग, असुरक्षा, नियन्त्रित आप्रवासिहरुको प्रवेश, गरिबि, जनताको क्रयशक्तिमा गिरावट आदि समस्याबाट पीडित फ्रेन्चहरु यि समस्याको समाधान गर्नसक्ने नेत्रृत्वको पर्खाइमा थिए | २००७ मा ले रिपब्लिकाँ ( LR ) पार्टी (तत्कालिन UMP) को राष्ट्रपति लाई जिताएका फ्रेन्च नागरिकहरुले 2012 मा समाजबादी पार्टी ( PS) का उम्मेदवारलाइ जिताएका थिए | यि दुइ पार्टीबाट समस्याको समाधान हुन सक्दैन भन्ने चर्चा जनमानसमा चलिरहेकै बेला EMANNUEL MACRON ले मध्यमार्गि कार्यक्रम सहित आफ्नो उम्मेदवारी घोषणा गरे | एक नया ब्यक्तिलाइ जिताएर हेरौ भन्ने मतदाताहरुलाइ लाग्यो | परिणाम स्वरुप MACRON को पक्षमा माहोल सृजना भयो |

>> केहि वर्ष यतादेखि समाजबादी पार्टी ( PS ) भित्र स्पष्ट दुइ खेमा देखा पर्यो | एउटा खेमाको नेतृत्व पंक्तिमा Benoît Hamon र Arnaud Montebourg थिए | उनीहरुका अनुसार आफ्नो पार्टीले शासन गरिरहेको बेला समाजबादी विचारधारालाई कडाइका साथ लागु गर्नु पर्छ भन्ने थियो | अर्को खेमाको नेतृत्व पंक्तिमा निवर्तमान राष्ट्रपति François Hollande र उनका प्रधानमन्त्री Mannuel Valls थिए | उनीहरुका अनुसार समाजबादी विचारधारालाइ समय र परिस्थिति अनुसार व्याख्या र लागु गर्नु पर्छ भन्ने थियो | यी दुइ बिचारबिचको द्वन्दकै कारण Benoît Hamon र Arnaud Montebourg ले आफ्नै पार्टीका राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डलबाट राजिनामा दिए र आफ्नै पार्टीको सरकार तथा राष्ट्रपतिका कार्यक्रम बिरुद्द आफ्ना बिचारहरु दिन थाले | समाजबादी पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार छनोटका लागि भएको चुनावमा संस्थापन पक्षले हार बेहोर्नु पर्यो | समाजबादी पार्टीको तर्फबाट Benoît Hamon उम्मेदवार छनोट भए तर सत्तारुढ पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने उनको स्थान सर्वेक्षणहरुमा निकै कमजोर ( चौथो / पाचौ ) देखिनुका साथै दिनप्रतिदिन कमजोर हुदै गयो | दोस्रो चरणको निर्बाचनमा चरम दक्षिणपन्थी पार्टी ( FN ) र ले रेपुब्लिकाँ पार्टी ( LR ) बिच प्रतिष्पर्धा हुने र चरम दक्षिणपन्थी पार्टी ( FN ) ले जित्न सक्ने कुरा मत सर्वेक्षणहरुले देखाऊन थाल्यो | चरम दक्षिणपन्थी पार्टी ( FN ) लाइ जसरिपनि सत्तामा जानबाट रोक्नु पर्ने मानसिकताबाट ग्रसित समाजबादी पार्टीका पूर्व प्रधानमन्त्री लगायत केन्द्रिय तथा स्थानिय स्तरका धेरै नेताहरुले पहिलो चरणमा नै आफ्नो पार्टीको आधिकारिक उम्मेदवारलाई मत दिनुको सट्टा MACRON लाइ मत दिने सार्बजनिक घोषणा गरे | यसको प्रभाव उक्त पार्टीका सबै तहका कार्यकर्तामा पर्न गइ समाजबादी पार्टीका मानिएका भोटहरु MACRON ले प्राप्त गरि प्रथमचरणको राष्ट्रपतिय चुनाबमा उनि २४.१ % मत सहित प्रथम स्थान हासिल गरे |

> > फ्रान्सको प्रमुख प्रतिपक्षी पार्टीं ( LR ) का राष्ट्रपतिका उम्मेदवार François Fillon लाइ चुनाब प्रचार प्रसार चलिरहेकै बेला दुइ आरोपहरु लागे : अ) आफ्नी पत्नीलाई आफ्नो पी . ए . नियुक्ति गरि संसदले पाउने आर्थिक एकमुष्ट रकमबाट दशकौं देखि तलब दिलाएको तर उनि नियुक्त भएको भनिएको पदमा रहँदा गर्नु पर्ने काम गरेको नदेखिएको | आ) आफ्नो एकजना साथीबाट महँगो मुल्यका दुइवटा सुटहरु उपहार स्वरुप लिएको | यी दुइ आरोप लागेपछि François Fillon ले एकातिर अदालतमा हाजिर भइ पटक पटक जवाफ दिनु पर्ने भयो | त्यो भन्दा बढी संचारमाध्यमहरुका प्रश्नहरुको सामना गर्नुपर्यो | मेडिया र सामाजिक संजालहरुमा यस बिषयले यति प्राथमिकता पायो कि उनि र उनको परिवार मानसिकरुपमानै प्रताडित हुनु पर्यो | पार्टीका केहि जिम्मेवार नेताहरु उनको प्रचार प्रसार गर्न छोडे | उनको प्रचार प्रसारमा हिडेका कार्यकर्ताहरुले सर्बसाधारणबाट अपमान सहनु पर्यो | यी सबै गतिविधिहरुले François Fillon को प्रचार प्रसारमा कमी आयो | हरेकदिन टिभीहरुमा उनका मुद्दाका बारेमा छलफल र टिकाटिप्पणी सुनेका उनका केहि मतदाताहरुले अर्को विकल्प खोज्न थाले | फलस्वरूप मध्यमार्गी कार्यक्रम लिएर चुनाब लडेका MACRON ले ति कार्यकर्ताहरुका मत लिन सफल भै पहिलो चरणको चुनाबमा प्रथम स्थान लिन सफल भए |

>> फ्रान्सको चरम दक्षिणपन्थी पार्टी ( FN ) ले यस अघिका स्थानिय तथा संसदीय चुनावहरुमा पहिले भन्दा धेरै स्थानहरु हासिल गर्यो | मतदान सर्वेक्षणहरुले यो पार्टी राष्ट्रपतिय चुनाबमा पहिलो चरणमा प्रथम स्थान हासिल गरि दोस्रो चरणमा प्रबेस गर्छ भन्ने तथ्यांक देखिरहेको थियो | यो बिषय ठुला ब्यापारिक तथा बित्तिय संस्था, अन्य यूरोपियन देस, आप्रवासिहरु, आप्रावासिका लागि काम गर्ने संस्था, केहि धार्मिक समुहहरु आदिको चुनौतिको रुपमा देखा पर्यो | सामजबादी पार्टी ( PS ) को कमजोर उम्मेदवार र ले रेपुब्लीकाँ पार्टी ( LR) को बिवादित उम्मेदवारबाट FN लाइ टक्कर दिन नसक्ने देखिएपछि FN बाट प्रत्यक्ष प्रभावित हुने मानिएका समुहहरुले Macron को पक्षमा माहोल खडा गरे | फलस्वरुप Macron ले दोस्रो चरणमा प्रतिष्पर्धा गर्ने अवसर पाए |

>> दशकौं देखि मध्यमार्गीको पहिचान बनाएको पार्टी MoDem का प्रमुख तथा बिगतमा तिन पटक राष्ट्रपतिको उम्मेदवार भइ सम्मानजनक मत प्राप्त गरेका François Bayrou ले यो चुनाबमा उम्मेदवारी दिएनन | पहिलो चरणको निर्बाचन हुनुभन्दा धेरै पहिलानै Macron लाइ चुनाबमा सघाउने सार्बजनिक घोषणा गरे जसबाट उनका समर्थकहरुमा Macron लाई मत दिनुपर्ने नैतिक दवाब सिर्जना भयो | एउटा प्रभावशाली पार्टीका प्रमुखबाट निशर्त समर्थन पाउदा Macron को राजनैतिक उचाई बढ्न गयो |

>> फ्रान्समा एउटा ठुलो समूह युरोपियन युनियन अधिकार सम्पन्न र शक्तिसाली हुनुपर्छ भन्ने धारणा राख्दछ | युरोपियन युनियनको एउटा सैनिक हेडक्वाटर, युरोपियन युनियनको एउटा बजेट, एउटा अर्थमन्त्री जस्ता नया संरचनाको कल्पना गरेका Macron युरोपियन युनियनलाइ एउटा शक्तिसाली क्षत्रिय संगठन बनाउनु पर्छ भन्ने प्रमुख उम्मेदवार हुन् | जसको कारण दोस्रो चरणको निर्बाचनमा यो समुहका मतदाताहरुले Macron लाइ मत दिनुको विकल्प थिएन |

>> Macron का बिरोधिहरुको भनाइलाई पत्याइदिने हो भने Macron ठुला व्यापारिक तथा बित्तिय समुहको प्रतिनिधित्व गरेर उनीहरुकै आर्थिक सहयोगमा चुनाब लड्दै छन् | यदि यो कुरा सत्य भएमा यस्ता समुहहरुको प्रभाब राष्ट्रपतिय चुनावमा नपर्ने कुरा भएन |

>> Macron ले आफ्नो घोषणापत्रमा अन्य सबै उम्मेदवारहरुका घोषणापत्रका राम्रा पक्षहरुलाई समेटेको देखिन्छ http://eunepal.com/?p=840 | जसको कारण कुनैपनि समूहसग आस्था राख्ने मतदाताहरुले उनलाई मत दिन हिच्किचाउनु पर्ने देखिदैन थियो | उनी ब्यक्ति नयाँ भएपनि उनको कार्यक्रम पुरानै पार्टीका कार्यक्रमको सुधारिएको रुप हो | यसैको कारण पहिलो चरणबाट बाहिरीएका 9 मध्ये 5 उम्मेदवारले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा MACRON लाई जिताउनुपर्ने विचार राखे | यसले दोस्रो चरणमा Macron को जित सुनिश्चित गर्यो |

>> फिलोसोफी र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका MACRON ले २००२ – २००४ मा फ्रान्सका नेता तथा अति उच्च स्तरका सरकारी कर्मचारी उत्पादन गर्ने स्कुल L’ENA मा अध्यन गर्ने अवसर पाए | त्यस स्कुलबाट पाएको योग्यता उनको CV को सबैभन्दा महत्वपूर्ण पक्ष बन्यो | यही योग्यताको कारण उनि वित्तिय समुहको अति उच्च स्तरको सरकारी सेवामा २००४ देखि २००८ सम्म काम गर्ने अवसर पाए | ४ बर्षको अवधिमा नै दुइवटा पदमा बढुवा हुन सफल उनि २००८ मा सरकारी सेवामा आवश्यक परेको बेलामा उपस्थित हुने शर्तमा फ्रान्सको अति प्रतिष्ठित व्यापारिक बैङ्कमा काम सुरु गरे | त्यहा पनि २००८ देखि २०१२ सम्म विभिन्न महत्वपुर्ण जिम्मेवारी समाले | माथि उल्लेखित गरिएका उनका शैक्षिक उपलब्धि, अनुभव, ब्यक्तिगत सम्पर्क र उनको चातुर्यताले उनलाई २०१२ सालमा राष्ट्रपतिको आर्थिक सल्लाहाकार बनायो | त्यसको दुइ वर्षपछि २०१४ मा उनि फ्रान्सको अर्थमन्त्री नियुक्त भए | छोटो समयमा नै उनले पार गर्न सकेको लामो र कठिन यात्राले जनताहरुमा उनलाई एक प्रतिभावान व्यक्तिका रुपमा चिनायो | परिणाम स्वरुप बिपक्षीहरुबाट अपरिपक्क, अनुभबबिहिन र गैरराजनितिक ब्यक्तिको आरोप लाग्दा पनि जनताहरु उनलाई मतदान गर्न हिच्किचाएनन् | अत MACRON को जितको एउटा कारण उनको CV पनि हो |

>> MACRON ले दोस्रो चरणको चुनाब जित्नुको एउटा महत्वपुर्ण कारण हो चरम दक्षिणपन्थी पार्टी ( FN ) दोस्रो चरणमा प्रवेस गर्नु http://global.setopati.com/anya/3124/| दोस्रो चरणमा प्रवेस गरेका यी दुइ उम्मेदवारहरुका कार्यक्रमहरु बिल्कुल बिपरित थिए | सबैजसो प्रमुख पार्टीहरु चरम दक्षिणपन्थी पार्टी ( FN ) लाइ सत्तामा जान दिनु हुन्न भन्ने कुरामा दृढ थिए | FN का आर्थिक कार्यक्रमहरु वामपन्थी पार्टीका कार्यक्रम सँग मिल्दाजुल्दा थिए भने Macron का आर्थिक कार्यक्रमहरु उदारवादी अर्थतन्त्र सँग मिल्दा थिए | युरोपियन युनियन, युरो, आप्रवासी नीति, NATO, वैदेसिक नीति, सामाजिक सुरक्षा ब्यबस्था, उत्पादन र बितरणको मोडेल आदि जस्ता महत्वपूर्ण मुद्दामा यी दुइ उम्मेदवार बिल्कुल बिपरित ध्रुबमा थिए | स्पष्ट दुइ बिपरित विचारबिचको लडाई भएकै कारण आफ्नो विचार मिल्ने उम्मेदवार छान्न धेरै सोचिरहनु परेन | फलस्वरूप पहिलो चरणको चुनावको नतिजा प्रकाशित हुदासाथ पहिलो चरणको चुनावबाट बाहिरिएका उम्मेदवारहरुले आफ्नो र आफ्नो समूहको विचार मिल्ने उम्मेदवारलाई मतदिने दिलाउने कुराको घोषणा गरे | जसअनुसार समाजबादी पार्टी ( PS) र ले रेपुब्लिकाँ पार्टी ( LR ) का पराजित उम्मेदवारले Macron लाइ मत दिने घोषणा गरे | Macron को आर्थिक कार्यक्रम सँग असहमत तिन वामपन्थी पार्टीले कसैलाई पनि मत नदिने वा अनुपस्थित रहनुपर्ने खालको आशय ब्यक्त गरे | करिब ५ प्रतिसत मत प्राप्त गरेको एउटा मात्र पराजित उम्मेदवारले Marine Le Pen लाइ मत दिनुपर्ने सल्लाह आफ्ना कार्यकर्तालाइ दिए | यसरि पहिलो चरणको चुनावमा तेस्रो र पाचौ स्थान हासिल गरेका उम्मेदवारहरु Macron को पक्षमा उभिनु र वामपन्थी उम्मेदवारहरु Macron लाई मत दिनकालागि आफ्ना कार्यकर्तालाई प्रेरित नगरेपनि Marine Le Pen लाइ सहयोग नगर्नुले Macron को जित सुनिश्चित भयो |

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*