मधेस समस्या हल गर्न सरकार गम्भीर भएन : यादव

रौतहट, फागुन २५ । सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको समस्या समाधान गर्न सरकार गम्भीर नभएको बताएका छन् ।

सोमबार सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मधेसको समस्या सम्बोधन गर्न ध्यान नदिए मुलुक अप्ठ्यारो स्थितिमा पुग्ने भएकाले समयमै ध्यान दिन आग्रह गरे ।

उनले सरकारसँग वार्ताको नाममा हालसम्म ठोस उपलब्धि हासिल नभएको पनि बताए ।

अध्यक्ष यादवले सरकारको यही रवैया रहेमा अब देशमा अकल्पनीय आन्दोलन हुने विचार व्यक्त गरे । उनले जबसम्म संविधान पुनर्लेखन हुँदैन तबसम्म आन्दोलन जारी रहने स्पष्ट गरे ।

विगत लामो समयसम्म चलेको मधेस आन्दोलनको स्वरुप परिवर्तन भएको बताउँदै अध्यक्ष यादवले पहाड, हिमाल र तराईलाई समेटी आन्दोलन गर्ने तयारी भइरहेको बताए ।

पत्रकार सम्मेलनमा सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ तथा वरिष्ठ नेता अशोक राईको पनि उपस्थिति थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*