एउटा लिलामी जिन्दगी -(कबिता )

एउटा लिलामी जिन्दगी
(कबिता )
# इन्दिरा चाम्लिङ
कौडीको भाउमा कवाडी जस्तो बेचिएर
जहाँ पुगेपनि
जति राप दिएर गालेपनि
जति ताप दिएर पगालेपनि
मैले आफ्नो धर्म भुलेको छैन
म बर्खाको गजगज हिलोमा गाडिएर पनि
हलो जस्तो जोतिएकै छु
म हिउँदे ठिहीले कठ्यांग्रिएर पनि
चिसो ढुंगामा
चन्दन जस्तो घोटिएकै छु
दिनरात भोकभोकै
आफू नर्कमा जिएर पनि
अरूलाई स्वर्ग दिन खटिएकै छु
कैयौ हिउँद,
कैयौ बर्खामासहरू आउँछन्
कैयौ यस्ता दिवसहरू आउँछन्
मेरो मझेरीको आगो निभाएरै जान्छन्
घुमराडी र बर्सादीको पहुँचबाट टाढा मलाई
निछुप्पै भिजाएरै जान्छन्
अनेक नाम, उपनामका दिवसहरू
हरेक साल आउँछन्, जान्छन्
कागलाई बेल पाक्नु जस्तै
यी ओठका कलेटीहरूलाई
यी पटपटी फुटेका कुर्कुच्चाहरूलाई
हर्ष न बढाई
यी चहर्याउने छातीका घाउँहरूमा
मलम कसले लगाउँछ र ?
यी असह्य पीडा, वेदनाहरूमा आँसु कसले बगाउँछ छ र ?
ढाकर र टेकुवा लिएर एक्लै
दु:खका लेकबेंसीहरू
अभावका उकाली,ओरालीहरू छिचोलिरहेछु
फटाफट पाइला चालिरहेछु, एउटै गतिमा एकैनास
आँखामा आँसुको नदी बगाउँदै
छातीमा पसिनाको खोला बगाउँदै
कस्टका गल्ली, गल्छेडोहरू काटिरहेछु म बाह्रैमास
सदियौदेखि दु:खको पहाड काँधमा बोकेर
एउटा कठोर जिन्दगी गुजारिरहेछु नफरत नगरेर कसैसँग
बन्दकी राखेको छु आफैलाई
मन्जुरीनामा गरेर रगतसँग
तमसुक गरेर तागतसँग
बन्दकी राखेको छु आफ्नै शैसवकाल,यौवनकाल अनि
बुढेसकालहरू
उकास्ने कुनै छाँट छैन
त्यसैले
लिलाम गरिदिएको छु सारा खुसीहरू
लिलाम गरिदिएको छु सुख र हाँसोहरू
लिलाम गर्न बाध्य भएकोछु सिंगो जीवन नै
जन्मैदेखि साहुको नुनसँग
आफ्नो खुन साटिरहेछु म बेहिसाब
साटिनु नै संस्कार सम्झेर
यतिसम्म अत्याचार सहेर
यतिसम्म अन्याय सहेर
आजीवन अरूकै सेवक बनेर
एक जोर जदौरी भोटो र दौरासँग
फाटिरहेछु म बेनिसाफ
फाटिनु नै धर्म सम्झेर ।
* ब्रसेल्स – बेल्जियम ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*