मेरो बालसखा कमल ; बिजयी भब !

*डिल्ली राम अम्माई Dilliram Ammai
मेरो सम्बन्ध कमलसंग जोडिन पुग्नु अगाडी र जोडिने बेलाको परिवेशको गन्थन हो यो । पुराना कुराको छायांकन अझै पनि झल्याकझुलुक आइ रहन्छ दिमागमा । मेरो जीवनको पहिलो चरणका धेरै कुराहरु त शायद धमिलो क्षितिजभित्र विलुप्त भैसकेका छन् अहिले । म वाग्लुङ्गको पानीकटेरीबाट छर्लङ्ग देखिने गाँउ –वनहुमा हुर्केँ बढें ।
कमल म भन्दा छ किलोमिटर बसेरीका बासिन्दा हुन् । दुवै गाउँका परिवेश, अवस्था, समस्या, बेदना र दृष्यहरु उस्तै हुन् । प्राकृतिक वातावरण पनि उस्तै उस्तै हो । मेरो गाउँमा चिभेचरी, जुरेली ,सुकेखोला तथा खोडेलामा खेल्ने कल्चुडाको पदचापलाई पच्छ्याउँदा पच्छ्याउदै कतिपटक आँगनबाट अर्को पाटामा पल्टेहुँला, खोलाको चिप्लो ढुंगामा चिप्लिएर विष्टै विष्टाले भरीएको पानीको आहालमा निथु्रक्क भिज्ने गरी लोटेहुँला, घर घर चहारेर हिड्ने विरालोलाई खेद्दै हिड्दा कति पटक डहरको बान्नाबाट सिल्टीमोरको फेदतिर मुन्टिए हुँला, त्यसको आंशिक सम्झना वाहेक मसँग केहि छैन। तर वाल चंचलताको प्रमाण स्वरुप मेरो खुट्टा र टाउकोमा लागेका डोवहरु जतिसुकै मेटिने प्रयास गरेपनि सग्लो दशीको रुपमा अझै मसँग बाचेका छन् ।
मेरो हजूरआमाले भन्ने गर्नुहुन्थ्यो—“वावु तँ सानोमा धेरै चकचके थिइस्, सर्प समात्न हिड्ने गर्थिस , अनि विरालो समातेर फ्याँक्दा नंग्राले चिथोरिएर रक्ताम्मे हुन्थिस ।” वुवा अछामको लाहुरे, आमा हम्मेसा वस्तुभाउको गोठाली, म त हजूरआमासँगै हुर्केको केटा । त्यसैले कताकति घटनाहरुको सम्झना र हजूरआमाले भनेको आधार वाहेक अरु सवै यादह्ररु वालापनको समाप्तिसँगै दिमागबाट मेटिएर गइसके आज । होला हजुर आमाले किन ढाट्नु हुन्थ्यो र ! केहि कुरा त मा आफैलाई पनि थाहा छ , मेरो बाल चंचलाताको बारे । धेरै बिर्सें, कति सम्झनु , दिमागले केहि कुरा डिलेट गर्दै नजाने होभने कसरि नयाँ घटना सेभ गर्न सक्थ्यो ।
अनि मेरा कमल, नन्दुहरुसंग खेलेका, डुलेका कुराहरु राख्नको लागि पनि फाल्तु कुरा त दिमागले फाल्ने पर्ने थियो , फाल्यो ठिक गर्यो । अचेल मेरो मनले मलाइृ भन्छ—“त्यो जीवन- यो जीवन भन्दा कति पवित्र थियो, चिन्ता र लोभ मुक्त थियो, भोक लागे हजुरआमालाई अत्यायो, वस !” आत्मा बोलिरहन्छ–‘अव ती दिनका स्वर्णिम याद वाहेक के वाँकी राखेकोछस् त तँसँग । सवै त सकिसकिस्, आयु सकिस् , वालपनका मिठा लयवद्ध गीतहरु र सुमधुर वोलीहरु सकिस्, जीवनका आश्रययुक्त दिनहरु सकिस् । तेरा वुवा, आमा, हजूरआमा, र तेरो शिरमा हात राखेर आर्शिवाद दिनेहरु सकिस् । त्यो वेलाका तेरा वालसखाहरु र प्रकृतिको न्यानो मायाभित्र रमाएका सम्झनाहरु पनि सक्दैछस् । अव तँसँग नमेटिएका याद, केही वाँच्ने दिनहरु, सुस्केरा,तनावयुक्त तन र समस्याहरुको भारी वाहेक के नै पो वाँकी छ र!” अझै सम्झन्छु, म बनहु- मेरो आँगनको डिलबाट प्रत्येक दिन पानी कटेरीतर्फ चियाउँथें र भकुण्डेको धुरीतर्फ चील उडेको देखेर रमाउँदै आमासँग सोध्थे—“आमा त्यो डाडापारी के छ नी ? आमाले भन्नुहुन्थ्यो, —“वावु, बाग्लुङ्गको ठूलो वजार छ, धनी मान्छेहरु वस्ने गाँउ छ । ठूला ठूला अस्पतालहरु र स्कूल पनि छन् ।” मैले कति बुझ्थें कति बुझ्दिनथे … ती सवै मेरो स्मृतिले मेटाईसकेको छ अहिले । कमलसंग नझ्याम्मिदैका अर्थात स्कुल भर्ना नहुदैका कुरा हुन् यिनी । म यो धर्ती टेकेपछि परिचयको सानो बिम्व बनाएको ठाँउ त्यै गाँउ हो दमेक, बनहु ठूलढुंगा । अझै पनि सबै भन्दा धेरै उत्सुक दमेक शब्दसंगै हुन्छ । त्यहाँको खबर बिस मिटर टाढाबाट पनि मेरो कानले ठ्याक्कै सुन्छ । अन्तको चार मिटर टाढा सम्म पनि मुस्किल हुन थालि सक्यो । सानोको कुरो हो , न त त्यो वेला मलाई खोला पारीको गाँउ थाहा थियो ,न त डाँडा पारीको शहर । भकुण्डेको धुरी, भीरकटेरीको गाँउ, आफ्रेको मगरटोल,लामाखोरिया जस्ता गाँउहरु मेरो घरको पिंडीले संधै. चियाईरहन्थ्यो र ती ठाँउहरुबाट म टाढा भएर पनि आ—आफ्नो परिचयहरु म सानो छदैं दिईसकेका थिए । वल्याहा हम्मेसा साउन मैनाले सम्झाई रहन्थ्यो लुतो फाल्ने वेलामा ।
नजिकैको जंगल र पाखाहरुका नाम आमाका कर्मक्षेत्र भएकाले शायद सानैमा याद थियो कि पछि याद हुदै गयो सम्झन्न ! त्यो वोहक घर वरिपरिका साथीका नाम र स्कूलका थले पिउन वाकी श्रीमतिको डरलाग्दो अनुहार मैलै कहिल्यै विर्सिन । उनी पनि हाम्रै टोलमा बस्थिन् र हमेशा हाम्रो घर आई मलाई डराउन दिन्थिन् । थले पिउन बाकी श्रीमति देखेपछि मेरो सातो जान्थ्यो रे र उनको नाम लिदैंमा मैले नदालीकन सपासप भात खान्थें रे भन्नुहुन्थ्यो मेरो हजूर आमा ।त्यो बेला हामी भलौदी-भैन्डाँडा अहिले मेरो पूजानिय जेठिआमा बसेको घरमा बस्थ्यौ । शायद २०३१ सालको तिहार तिरको कुरा हो, सुन्तलाचौरको स्कूल भवन वनाउनको लागि चन्दा माग्दै एउटा भैलो टोली हाम्रो घरमा पनि आयो । त्यो अझैपनि मलाई आम्सिक रुपमा याद छ । त्यो भैलो टोलीमा कतिजना थिए मैलै भन्न त सक्दिन तर त्यो टोलीमा मेरो ठूलो वुवा , भुमिस्वर सर, टिकाराम सर, जिम्माल माइलादाई,गोबिन्द सर, सिता दिदि, रामेदाई लगायत हाम्रो टोलका पनि थुप्रै थिए । त्यो भैलोटोलीले गाएका आंशिक गीतहरु याद छन् अझै —“हे मेरा वावा, हे मेरी आमा, चन्दा दिनुस् स्कूललाई सम्झेर, तालपारी निउरो, निउरो निउरो भन्दैमा दिल विउरो… अनि धुमि आयो रेल, आँखै लाउनी कालो गाजल, बूल्बुलेलाई तेल………… “आदि ।
त्यतिवेलासम्म सुन्तलाचौरमा स्कूल भवन रहेनछ कि क्या हो र तिहारमा भैलो खेलेर भवनको लागि चन्दा उठाएका रहेछन् सवैले । त्यति वेलाका हेडसर गोविन्द आचार्यको नाम भुलेको छैन । भुमिश्वर सर,गोविन्द सर, प्रेम सर, फणिन्द्र सर, टीकाराम सर, जगपति सर, कृष्ण सर, दुर्गा सरहरुको त्यतिवेलाको जति मलिन रेकर्ड राखेको छ मेरो दिमागले कमल, दयाराम, रुद्र, भरत, धनपति र प्रमानन्दहरुसंगको बाल मित्रताको स्वादले मेरा सपनाहरुलाई स्वर्णिम स्तरमा सजाएर राखेको छ अझै मेरो अन्तस्करण । अरु अहिले छरिए, चिरंजिबिलाई कहिलेकाही भेट्छु, कृष्ण र बिस्नुलाइ यो पटक पनि भेटें नेपालमा ।

 

Dilliram Ammai
त्यो बेलाको कुरो कहा सकिन्छ र ! आधाजति वनाएको सुन्तालचौरको स्कूल पनि बत्तीस सालको वर्षायाममा पल्टियो र धेरै समयको दमेकवासीको मेहनत खेर गयो । त्यसपछि हामी धेरै महिनासम्म खोडलाको जंगल, नुन्थलाचौर र कुलायनथान नजिककैको ठूलो गरामा पढ्न वाध्य भयौं । पानी परेको वेला स्याखु नलग्ने हो भने हाम्रो विचल्ली नै हुन्थ्यो । हाम्रा हातका चटकी र गुन्द्रीले झोलालाई पानीबाट बचाउँदा बचाउँदै पनि कहिलेकाँहि कापी कितावहरु भिजिहाल्दथे र घरमा लगेर अगेना नजिक राखी सुकाउनु पर्दथ्यो । त्यो बेलामा मेरो सरस्वति दिदि र कमल मेरै नजिक बस्थे । दिनमा कति पटक कक्षा चलिरहेको बेलामा समेत खासखुस गरेर सरका गालि खान्थ्यौ एनआरएनएको सकारात्मक चुमाबी परिणाम लिएर आएपछि सोध्नु पर्ला ।त्यति गुनिला बालककालका कुरा गरेर बिताउने समय उनलाई परिस्थितिले अझै दिए जस्तो छैन । सबै कुरा पुन कमललाई भेटेर समय माग्दै राख्ने धोको छ ।
ती घटनाहरु अचेल सम्झिदा अस्ताउँदै गरेको चन्द्रमाले पछिल्लो शितलताको किरण दिएर विदा माग्दै गरेजस्तो धुमिल तर स्वादिलो भएर आउँछ । रुखको छहारीभित्र देखिने प्रकाश जत्तिकै याद आईरहन्छ, त्यो वेलाका प्रतेक क्षणहरुको अहिले । म हजूरआमाको लाडप्यारले हुर्किएको हुनाले हजूरआमासँग उहाँको माइतीगाँउ धेरै पटक पुगें । दरौंदी, त्यहि नै मेरी हजूरआमाको माइती घर थियो । गैराघरे भनेर चिनिन्थे मेरी हजूरआमाका माइतीहरु । ३-४ कक्षामा गएपछि म त्यो ठाँउ एक्लै पुग्न सक्ने भएँ । दरौंदी जेठो वुवाकोमा धेरै वस्न रुचाउने मेरो कारण भाई नारायण र मुना बैनी थिए । उनीहरु पनि मै पढ्ने स्कूलमा पढ्दथे । त्यस पछि त्यहि मेरो बालसखा कमल थियो । उनको घर तल खन्यु खान जान्थें म उनिसंगै । अनि घर तलको निबुवा, कति अमिलो, साधेर खाइन्थ्यो निबुवाको पातमा चिनी र नुन हालेर । त्यसैले उनीहरु मेरा सवैभन्दा प्रिय वने । अचेल धेरै वर्ष भैसक्यो दरौदी नारायण भाई र मुना वैनीसँग भेट नभएको । स्कूलका प्रिय साथीहरुमा कलम, दया, रामु, अग्निधर, नन्दु, सरस्वती दिदी, चिरञ्जीवी, लक्ष्मी, नाउढुङाको डिल्ली राम,भुमिराज,देउरालीखानिको रामु, लगायतका थिए ।
फेंदीबाट तिजु र लप्सी लिएर टाँकमा बेच्ने चक्र, दया, धनपति र परमानन्दहरुसँग अझैं तिजु र लप्सी किन्ने धोको शायद अव पुरा हुने छैन । कहाँबाट पाउनु ती धुलाई र मैला तर निर्मल मन भएका विद्यार्थी—ब्यापारी र वालसखाहरु । दया चापागाईँ साथीसँग कहिले होला फेंदीको बाटो हाँडे गएर यज्ञकोमा नासपति खाने ? ती दिनहरु सम्झिदा निर्मलताको अथाह प्रेम गंगा बगिरहन्छ यो मनमा । भलौंदीका काले र डल्लेले काफल बेच्न छाडेहोलान् अचेल , तर मैले त खाली झुम्के झोलामा काँफलै बेचिरहेको देख्छु उनीहरुलाई कल्पना र सपनामा । अग्नी, नन्द मामा र रौदेलहरुको खनिम किन्दा किन्दा सिंगो कापी सकिएर दण्डे र किस्ने रुदैं हिडेको अझैं मैले भुलेको छैन । धनपतिले ल्याएको लप्सीको हाड पनि गोलो भएकोले किन्नु पर्ने पाँच पैसामा ।
चक्रले भने टाँकमा पनि बेच्दथे लप्सीका हाडहरु । गुच्चा किन्न नसक्नेहरुलाई कत्ति मद्दत गर्दथे हाम्रा परोपकारी वालसखाहरु । अचेल त हाम्रा वालसखाहरुलाई सम्झनाको पातलो पर्दाले राम्रो ठम्याउन पनि नसक्ने भईसकेछु म ।
मैले छोड्दा उनिहरुको भर्खर जुँगाको रेखी बस्न थालएको थियो र तनमा पवित्र भावनाले मनलाई पखाल्दै गरेको किशोरकालको बिहानी लालिमय कान्तिकाल थियो । अझै मन घुमी रहन्छ काली दिदी,दयादाइ,छबेदाइ र आनन्द दाईको हात समातेर कहिले तर्ने होला वर्षा यामको खोडेलाको खोला ? यो सम्झने मन त हो । कालापातलबाट आउने केटाहरुले हामीलाई बाहुन भनेर हेप्ने भएकाले सँगै पढेपनि भरत छन्त्यालहरु मेरो प्रिय बन्न सकेनन् त्यो बेला । अचेल भेट्न पाए कति अंगालो मारिंदो हो उनीहरुसँग । थमबहादुर भने मिलनसार स्वभावका कारण मलाई मन पर्दथ्यो । त्यतिवेला हामीभन्दा धेरै माथि पढ्ने परी थापा, प्रेम सापकोटा, शालिकराम दाई, तुलसी, हेमराज, गोपाल, विष्णु लगायतका धेरे थिए अग्रजहरु ।
तर कमल मेरो सधै प्रिय भैरहे । हामि छ बर्षदेखी चौध बर्षको उमेरसंगै बितायौ , हामि बिच कहिल्यै नराम्रो भएन । उनीहरुलाई सम्झने एउटै सम्झना छ मसँग, उनीहरु भएसम्म हामीलाई कहिल्यै पनि भलिवल छुन दिएनन् ।लाम्खोरिया केशब दाइ र तमेले पनि हामीलाई हेला गरेकै हुन,सन्झिन्छु मान्छेको बिष्टामा परेको भलिबल धोएर ल्याउन बाहेक बल कहिले छुन दिए त हामीलाई ? दया, छवि, अर्जुन, प्रेमहरु पनि हामीभन्दा दुईव्याज अगाडिका दाजुहरु हुन् । सबै सबै मेरा बाल अग्रज र सखाहरुलाई मेरो नमन । मेरो बाल शखा भिम केशी कमल अहिले युरोप उपसंयोजकमा उठेका छन् रे । उनलाई आधिकारिक रुपमा नै एनआरएनए पोर्तुगलको बर्तमान कार्यसमितिले उम्मेदवारको रूपमा प्रस्ताव गरेको कुरो सुन्नमा आएको छ । मेरो अभिलाषा र सम्पूर्ण एनआरएनएका सदश्यहरुसंग यहि एक प्रार्थना छ मेरो बालशाखालाई उसको क्रियाशीलता देखेर भोट दिनुहोला, उनि अझै उर्जाशील र सक्रिय छन् । एनआरएनए पोर्तुगलका निबर्तमान अध्यक्ष पनि हुन् ।
उनि नेपालमै भएको भए पनि मन्त्रालय सचिब भैसक्ने थिए । बाग्लुङ्गका कायममुकायम जिल्ला शिक्षा अधिकारि भैसकेका उनि हाइस्कुल सकुन्ज्याल पढाइमा पहिलो र दोश्रो भै रहन्थे । पढाइमा मात्र हैन, बाहिरि ज्ञानमा पनि उत्तिकै अब्बल उनि स्नाकोत्तर गरिसकेका बौद्धिक अभियन्ता हुन् । मेरो जिबनमा मैले अझै सम्म खुलेर कसैलाई भोट मागेको छैन । योग्यता पस्केको छु , जिबनवृत्त लेखेको छु , योग्यहरुलाई सलाम गरेको पनि छु तर आज मेरो बालशखा प्रिय कमललाई उनको योग्यताको सम्मान गर्दिनुस भन्न मलाइ कत्ति लाज लागेको छैन । भोट मात्रै के र यदि मेरो बाल्शाखाले मेरो अमुल्य निधि , आत्मा सम्मान र सपनाको अधिक अंश साथि समर्पण गर , मलाइ अफ्ठ्यारो पर्यो भन्छन भने पनि मा ज्योतिषीलाई सोध्न जाने छैन । बाल्शखाको सकारात्नक सपनाको लागि मेरो बिपनाको थोरै हिस्सा समर्पण गर्नु मेरो जिबनको गौरब हुनेछ । मेरो साथि कमल बिजयी भब : //

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*