बौद्ध निबन्धकारहरु पुरस्कृत


काठमाडौँ, ९ पुस । लुम्बिनी बुद्धधर्म सोसाइटी, युके र युवा बौद्ध समूह, काठमाडौँद्वारा २५६० औँ बुद्ध जयन्तीका उपलक्ष्यमा आयोजित ‘सुशासनका निम्ति बुद्ध शिक्षा’ विषयको निबन्ध प्रतियोगिताका विजेताहरुलाई आज यहाँ पुरस्कृत गरियो ।

उक्त प्रतियोगितामा अशोकानन्द बज्राचार्य प्रथम, गङ्गा गोसाइ द्वितीय र जमुना गोसाइ तृतीय हुनुभएको थियो । पुरस्कारको राशि रु आठ हजार, रु छ हजार र रु चार हजार रहेको छ ।

उक्त प्रतियोगितामा २१ जना लेखक सहभागी थिए । बुद्धधर्म र दर्शनसम्बन्धी ज्ञान फैलाउन र लेखन शैलीको विकास गर्न निबन्ध प्रतियोगिता विसं २०६३ देखि आयोजना हुँदै आएको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधले विजेताहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । उहाँले सुशासन कायम नहुँदा मुलुकको नीति निर्माण तहमा गलत व्यक्ति पुग्ने खतरा रहिरहने बताउँदै बुद्धको शिक्षाले सुशासनका लागि मार्ग निर्देश गरेको जानकारी दिनुभयो ।

समूहका अध्यक्ष त्रिरत्न तुलाधरको सभापतित्वमा भएको उक्त कार्यक्रममा सोसाइटीका संस्थापक अध्यक्ष अमृतरत्न स्थापितले बेलायतमा विभिन्न मुलुकका बौद्ध गतिविधि भइआए झैँ नेपालीहरुमाझ बुद्ध जन्मस्थल लुम्बिनी र उहाँको शिक्षालाई प्रवद्र्धन गर्न सोसाइटीले निबन्ध प्रतियोगिताको आयोजना गर्दैआएको बताउनुभयो ।

उपप्राध्यापक डा सुरेन्द्रमान बज्राचार्यले प्रतियोगी निबन्धहरुमाथि समीक्षात्मक विश्लेषण गर्नुभएको थियो । रासस

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*